नियाँबरमको लोक साँस्कृतिक अध्ययन

१ शोधकार्यको परिचय

नियाँबरम क्षेत्रमा क्षेत्री, बाहुन, गुरुङ, सुब्बा, राई र अन्य विभिन्न जनगोष्ठीका मानिसहरू बसोबास गर्दछन्। विभिन्न धर्म अन्तर्गतका बौद्ध धर्म अन्तर्गत गुरुङ, किरात धर्म अन्तर्गत राई र अन्य जनगोष्टीका तथा धर्मावलम्बीहरू पनि बसोबासो गर्दै आइरहेको पाइन्छ। यस क्षेत्रमा बसोबास गर्ने हिन्दू धर्मावलम्बीहरू पनि हिन्दू धर्म सम्प्रदायको प्रणामी सम्प्रदाय अन्तर्गत रहेको पाइन्छ। यस क्षेत्रमा बसोबास नगर्ने तथा आफ्नो जगा जमिन स्थायी रूपमा भएको लेप्चा र भोटियाको पनि पाइन्छ। यस क्षेत्रमा स्थायीरूपमा  बसोबासो गर्ने उपर्युक्त सबै जाति अथवा धर्मावलम्बीहरू आफ्नो संस्कार, संस्कृतिमा, भेषभूषामा आफ्नो चाडपर्व आदिमा सजिएका तथा चाड पर्वहरू मनाउँदै आएको पाइन्छ। यसै नियाँबरम क्षेत्रको ऐतिहासिक तथा लोकसंस्कृतिक विषयमा यस लघु शोधप्रबन्ध तयार पारिएको छ।



१.१ शोधप्रबन्धको शीर्षक

प्रस्तावित लघु शोध प्रबन्ध नियाँबरम क्षेत्रको लोक सांस्कृतिक अध्ययन रहेको छ।



१.२ शोधप्रबन्धको प्रयोजन

प्रस्तावित लघु शोधप्रबन्ध सिक्किम सरकारी महाविद्यालय रिनकको छैठौँ सत्रको नवौँ पत्रको आंशिक परिपूर्तिको लागि प्रस्तुत गर्न यसको मुख्य प्रयोजन रहेको छ।







१.३ समस्याकथन

प्रस्तावित लघु शोधपत्रको समस्याहरू निम्नलिखित रहने छन्-

क) नियाँबरम क्षेत्रको लोकसंस्कृति के कस्तो छ?

ख) नियाँबरम क्षेत्रको इतिहास के कस्तो छ?



१.४ शोधकार्यको उद्धेश्य

प्रस्तावित लघु शोधप्रबन्धको समस्याहरू समाधानार्थ निम्नलिखित उद्धेश्यहरू रहने छ।

(क)        नियाँबरम क्षेत्रको संस्कार संस्कृति विषयमा अध्ययन गर्नु।

(ख)         नियाँबरम क्षेत्रको इतिहास बारेमा अध्ययन गर्नु।



१.५ पूर्वकार्यको समीक्षा

नियाँबरम क्षेत्रको उक्त विषयमा आजसम्म कुनै पनि प्राज्ञिक कार्य भएको पाइँदैन।



१.६ शोधको औचित्य

प्रस्तावित लघु शोध प्रबन्धको विषय नियाँबरम क्षेत्रको लोकसांस्कृति अध्ययन माथि आजसम्म कुनै पनि कार्य भएको पाइँदैन त्यसैले यस शोधकार्य औचित्यपूर्ण रहेको छ।



१.७ लघु शोधप्रबन्धको सीमा

नियाँबरम क्षेत्रको ऐतिहासिक तथा लोकसंस्कृतिको अध्ययन गर्नु मात्रै प्रस्तावित लघु शोध प्रबन्धको सीमा रहेको छ।



१.८ शोधविधि

१.८.१ सामाग्री सङ्कलनविधि

प्रस्तावित लघु शोधप्रबन्ध तयार पार्दा निम्नलिखित स्रोतहरूबाट सामग्री सङ्कलन गरिएको छ।



१.८.२ प्राथमिक स्रोत

प्रस्तावित लघु शोधप्रबन्ध तयार पार्दा प्राथमिक स्रोतअन्तर्गत क्षेत्रीय अध्ययनको आधारमा नियाँबरम क्षेत्रको लोकसंस्कृति तथा इतिहास बारे  जानकारी भएको व्यक्तिसँग भेटवार्ता गरी तथ्य सङ्कलन गरिएको छ।



   १.८.३ द्वितीय स्रोत

  प्रस्तावित लघु शोधप्रबन्ध तयार पार्दा द्वितीय स्रोत अन्तर्गत महाविद्यालयको पुस्तकालय तथा अन्य विभिन्न पुस्तकादि र पत्र पत्रिकादिबाट तथ्य सङ्लन पारिएको छ।

















दोस्रो अध्याय



२ नियाँबरम क्षेत्रको परिचय

२.१ नियाँबरम क्षेत्रको ऐतिहासिक परिचय

पूर्वमा भूटान, पश्चिममा नेपाल, उत्तरमा तिब्बत र दक्षिणमा पश्चिम बंगाल राज्यको माझमा २७५ र २८ १० उत्तरी रेखाङ्क एवम् ८८ ४ र ८८ ५८ पूर्वी अक्षांशमा बसेको ७,०९६ वर्ग कि.मी.को क्षेत्र भएको वर्तमान भारतको २२ औँ राज्यलाई सिक्किम भनिन्छ। यही दक्षिण सिक्किमको सानो क्षेत्र नियाँबरम हो। सिक्किम राज्यअन्तर्गतका केही महत्त्वपूर्ण ऐतिहासिक स्थानहरूमध्ये नियाँबरम पनि एक हो। नियाँबरम एक वीर युद्धको ऐतिहास बोकेको स्थान हो।[१] लगभग अठारौँ शताब्दीको मध्यतिर पूर्वमा ब्रह्मपुत्र र पश्चिममा सतलज चन्द्रांकित झण्डा पहराउने पृथ्वीनारायण शाहको आदर्शलाई कार्यान्वित दक्षिणमा गंगाजी साँबनाई पश्चिममा कांगडा छुनपुगेका रणबहादुर शाहको सङरक्षक बहादुर शाहले पूर्वमा सिक्किममाथि आक्रमण गर्ने चाँजो मिलाएका थिए। यसभन्दा अघि सिक्किमको आफ्ना पश्चिमतिरका छिमेकीहरूमध्ये सबै भन्दा निकटको छिमेकी लिम्बुवानसित परस्पारिक मित्रता साथै कौटुम्बिक नाता पनि थियो। सिक्किमको नामग्याग वंशका द्वितीय राजा तेन्सुङ नामग्यालको अरूण प्रान्तका लिम्बु मुखिया योयोहाङकी पुत्रीसित विवाह भएको थियो। लिम्बुवानको स्वतन्त्र अस्तित्त्व गोर्खा शक्तिका अगाडी संहार भइसकेकाले सिक्किमको त्यो मधुर सम्बन्ध उपर्युक्त कालमा आएर समाप्त भयो।

      त्यस समयमा सिक्किमको राजधानी आजको गेजिङ बजारदेखी केही माथिको पेमियञ्ची गुम्बाको रापदेञ्चीमा थियो। नामग्याल वंशको छैठौँ राजा तेन्जिङ नामग्याल त्याहाँका राजा थिए। गोर्खा फौजले रापदेञ्चीमा घेरा हाल्यो। चिनसित सिङ जोड्न आँट गर्ने अवस्थामा पुगेका गोर्खाली फौजले सिक्किममाथि सहजै विजय प्राप्त गर्‍यो। तेन्जिङ नामग्याल र उनका पुत्र छोपे भागेर भोट पसे। नाग्यालको सेना गोर्खा सेनाको अगि हार मानेर भाग्दा गोर्खा सेनाले पनि तिनीहरूलाई खेद्दै रङ्गीतिर झरे। आजको लेगसेप गड्डीको छेउबाट रङ्गीत तरी खेदिने र खेद्‌ने फौज सोसिङ राभाङ्ला हुँदै टिष्टा तर्फ बडे। रङ्गीत नदी सानो भएको हुँदा र राजधानीमा भएकोले गर्दा त्याहाँबाट वारपार गर्न सहज थियो। त्यसैले भगौटाहरू त्यहाँ भएर भागेका थिए। टिष्टानदी ठूलो र राजधानीबाट टाडा भएकोले  गर्दा तर्नको व्यवस्था अलि कठिन थियो। त्यसो हुँदा सिक्किमे फौज टिष्टा तरी सक्दा मात्रा गोर्खा फौजले तिनीहरूलाई आजको बरामटारमा भेट्टायो र निर्दयतापूर्वक गोर्खाली सेनाले तेन्जिङ नामग्याल फुन्सोका सेनाहरूको शिर काटेर विजय प्राप्त गरे बरामटारमा तेन्जिङ नामग्याल फुन्सोका सेनाहरूको जवानका टाउका बराम पारेर लडाएका थिए। त्यलैले गर्दा त्यो टारको नामाकरण पनि "नियाँबरमटार" राखियो।

      बरामटारको युद्धमा सिक्किमको पुरै हार भयो। त्यहाँ सिक्किममे फौजका धेरै ठूला ठूला अधिकारीहरू पनि पकडा परे। गोर्खाली हाकिमहरूले तिनीहरूमाथी युद्ध चलाए। बरामटार टिष्टाको गडनिर भएकाले गर्दा अस्वस्थ थियो, भएन युद्धमा मारिएका देह सड्न थालेकाले गोर्खालीहरू बगरदेखी केहीमाथी उक्लिएर थर्पु हली बसे। त्यहीँ बन्दीहरूको मुद्धा चल्यो। यसरी त्यहाँ बन्दीहरूको न्याय भएकोले गर्दा  त्यस ठाउँको नाम नै "न्याय" बस्यो। जुन ठाउँमा गोर्खाली बसी न्याय गरेका थिए, त्यस ठाउँमा अद्यावधी उनीहरूले बनाएको चौताराको आकार आज पनि पाइन्छ।

बरामटारमा सिक्किमे फौज फेला पर्यो अथवा कति भाग्न पनि सफल भए, त्यो यसै भन्न सकिन्न तर गोर्खाली फौज भने टिष्टा तरेर अगाडी बडेनन्। तिनीहरूले आफ्नो फौजको नियम अनुसार आजको "मेङ्ली बजार" छेउमा टिष्टा नदीमा गएर खड्‌ग निसानी राखी रणचण्डीकाको पूजा गरे भनिन्छ। त्यहाँ देउरालीको पनि स्थापना गरिएको हुनाले यात्रीहरू त्यहाँबाट हिड्दा पाती चढाउँछन्। य प्रसङ्गलाई विवाहमा खाडो जगाउने "मन्त्रमा" पनि उल्लेख गरिएको छ भन्ने कुरा महानन्द पौड्यालद्वारा लिखित कालु पाँडे देखाइएको छ। गोर्खाली सेनाले यस युद्धमा सम्पूर्ण पश्चिम सिक्किममाथि अधित्य जमायो र त्यो अधिपत्य सन् १८९५ (सुगौली सन्धि)-सम्म यथावत रह्यो। यी माथि उल्लेखित कुराहरू बाहिर प्रकाशनमा नआइकन विलिन भएर गयो। यति सम्मकि गोर्खा सैन्यको नेतृत्त्व कसले गरेको थियो त्यो पनि स्पष्ट छैन। यस प्रसङ्गमा नेपालका इतिहासकारहरूले जेस्तो भने पनि जनश्रुतिरूका आधामा भन्न पर्दा यस युद्धमा नेपाली सेनाको नेतृत्त्व सेनापती दामोदर पाँडेले गरेका थिएउनी  पराक्रमी सेनापति थिए भन्ने कुरा उनको नामसित गाँसिएका कतिपय किंवदन्तिहरूले स्पष्ट पारेका छन्। यस इतिहास समयको प्रवाहसँगै विलिन हुँदै गइरहेका भए तापनि दामोदर पाँडे काजीको नाममा पश्चिम सिक्किमका नरनारीहरूसँग अद्यावधि परिचित छन्। मानिसहरूले उनलाई एक महापुरूष मात्र नठानेर दैवी शक्तिले सम्पन्न एक सिद्द पुरूष पनि ठानेको देखिन्छन्। उनको नामसित आबद्ध विभिन्न जनस्रुतिहरू पनि खुबै चाखलाग्दा र घातपर्दा छन्।

      गोर्खाली सेनाले रापदेञ्चीमा घेरा हाली बसेको बेला गोर्खाली फौजमाथि एउटा आपत्ति आइलाग्यो। तिनीहरूका थर्पुबाट प्रत्येक रात एउटा सिपाही हराउन थाल्यो फौजमा ठूलो खुल्दुली मच्चियो तर कारण पत्तो लागेन। रातमा राम्ररी पहरा दिने व्यवस्था मिलाइयो अनि सिपाहीहरूलाई सतर्क बस्ने आदेश पनि दिइयो। यति गर्दा पनि प्रत्येकरात सिपाही हराइ नै रह्यो। धेरै समयसम्म खोजीहुँदा त्यहाँ छेवैमा ठूलो अजिङ्गर थियो यो घटना थाहा पाए पछि दामोदर पाँडेले आफ्नो अनूपम पराक्रमको साक्षत उदाहरण प्रस्तुत गर्दै त्यस अजिङ्गरलाई आफ्नो तलवारले छ गिंड पारेर लडाइदिए, त्यसपछि सिपाहीहरू हराउँन बन्द भयो र केही दिन पछिदेखी त्यो दीर्घकाय अजिंगर कुहेर दुर्गन्ध फैलाउन थाल्यो। दुर्गन्धले रोग व्याधि फैलिने आशंका हुँदा दामोदरले प्रत्येक गिंडलाई दुइ तलवारमा उठाएर रङ्गीततिर हुत्याइदिए। ती गिंड हुत्तिएर बनतिर छरिए। टाउकोको गिंड भने रङ्गीतको पारिपट्टि पुगेर लड्यो। गोर्खा सेनाका सेनापति दामोदर पाँडे नियाँबरम लगायत[२] सिक्किमका अन्य स्थानमा पनि नियाबरममा झैँ आफ्नो पहिचान छोड्दै गएका छन्। जस्तै गेजिङ छेउको सघन बनमा उक्त गिंडहरू शिलारूपमा आजपनि प्राप्त छन् भन्ने भनाइ रहेको छ। लेगसेपबाट सोसिङतिर जाने पूलदेखि माथिका आँपका केही वृक्षहरूपनि पाँडे काजीले रोपेका थिए र केही वृक्षहरू अद्यावधी छन् भन्ने कुरालाई महानन्द पौड्यालले आफ्नो कथा कालु पाँडेमा उल्लेख गरेका छन्।



२.२ नियाँबरमको भौगोलिक परिचय

नियाँबरम भारत भित्रको सिक्किमको दक्षिण भागमा पर्ने यो एउटा ऐतिहासिक स्थान होयस ठाउँको भौगोलिक बनोटको बारेमा चर्चा गर्न पर्दा पूर्वमा टिष्टा नदीको किनारदेखि यसको सिमाना सुरू भएर नियाँको सिरान भाग भाले ढुङ्गाको फेदमा गएर समाप्त हुन्छ भने उत्तर भागमा नियाँ खोलादेखी सुरू भएको यसको सिमाना दक्षिणमा भालेखोलामा गएर समाप्त हुन्छ। पूर्व,  उत्तर र दक्षिण दिशामा खोलाले छेकेको र पश्चिम दिशामा एक विशाल भाले ढुङ्गाले यस क्षेत्रलाई सिमाङकन गरेको छ। नियाबरमको माथिल्लो भागमा धेरै ठूला-ठूला भिर र पहराहरू पनि छन् तर यी सबै नियाँबरमको माथिल्लो भागमा भए तापनि तल तलका भागहरूमा भने मैदान खेत र बारीहरू पनि उत्तिकै देख्न पाइन्छ। नियाँबरमसम्म पुग्ने मार्गहरूको विषयमा चर्चा गर्नु पर्दा सिक्किमका केही स-साना बजारहरूमा यसको मार्गहरू जोडिएका छन्। जस्तै पूर्व सिक्किमको सिङ्तामदेखी गएको बाटो माखा, लिङ्मो, माङ्जिङ हुँदै नियाँबरमसम्म पुग्न सकिन्छ भने अर्को बाटो दक्षिण सिक्किम याङ्गाङबाट पनि यस क्षेत्रमा सहजै पुग्न सकिन्छ। नियाँबरमको सिमाना टिष्टा खोलाको किनारदेखी सुरू भएर चिसो जग्गा भाले ढुङ्गाको छेउसम्म भएको कारणले पनि यस ठाउँमा भिन्न किसिमको रूख, पातहरू पाइने गरिन्छ।  नियाँबरम तल तलको भागमा औलमा पाइने रूखहरू पाइन्छ जस्तै चिलाउने ,सिरिस, उत्तिस, पानीसाज पाइन्छ भने नियाँको माथिल्लो लेकाली भेगमा पाइने वृक्षहरू पाइन्छ।

औषधीको रूपमा प्रयोग गरिने रुख अथवा झार पातको वर्णन गर्नु पर्दा चिरौटो. निम्पत्ति, तितेपाती, कालिझार, बुडो ओखती, कागती, अविजालो आदि पाइन्छ।



२.३ नियाबरम क्षेत्रको आर्थिक अवस्थिति

नायाँबरम क्षेत्रको आर्थिक अवस्थाको विषयमा चर्चा गर्नु पर्दा नियाँबरम क्षेत्रमा कृषिकार्यलाई नै आफ्नो आयश्रोतको रूपमा अपनाएको देख्न पाइन्छ। नियाँबरका मानिसहरू पशुपालन, धान खेती, सुन्तला, अलाइँची आदिमा निर्भर रही आफ्नो जिविका चलाएको पाइन्छ भने धेरै कम मात्रमा यस क्षेत्रमा सरकारी नोकरी गर्ने मानिसहरू पनि छन्। सम्पूर्ण नियाँबरम क्षेत्रको आर्थिक स्रोत हेर्दा यस क्षेत्रमा सरकारी नोकरी र अन्य क्षेत्रमा भन्दा कृषि क्षेत्रलाई नै मानिसहरूले आफ्नो आयस्रोत बनाएका छन्।



२.४ नियाँबरम क्षेत्रको सामाजिक अवस्थिति

नियाँबरम दक्षिण सिक्किमको एक भूभाग हो। यस भूभागले प्राचिनकालको एक महात्त्वपूर्ण इतिहासलाई झल्काउँछ। यस नियाँबरम क्षेत्रको समाजिक अवस्थिति चर्चा गर्नु पर्दा यो क्षेत्रमा सिक्किमका अन्य क्षेत्रमा झै मानिसहरूको बसोबासो भएको देख्न पाइन्छ। यस क्षेत्रमा एकै प्रकारका मानिसहरू नबसेर विभिन्न धर्म, जातगोष्ठी र धर्म सम्प्रदायका मानिसहरू बस्ने गर्द छन्। नियाँबरम क्षेत्रमा बसोबासो गर्ने जात,  गोष्ठी,  धर्मावलम्बी र भिन्न सम्प्रदायका मानिसहरू मध्ये प्रणामी (हिन्दु धर्मका एक सम्प्रदाय) र जातमा क्षेत्री, बाहुन, सुब्बा, गुरुङ, राई, साथै अन्य जातीका मानिस तथा धर्मावलम्बीहरू यस क्षेत्रमा समान रूपमा बसोबास गर्दै आएको पाइन्छ। नियाँ क्षेत्रमा बसोबास गर्ने मानिसहरू आफ्नो जात, धर्म, सम्प्रदाय, आदिहरूमा भिन्न भए तापनि आपद विपद, विवाह तथा सामाज विकासका निम्ति सबै धर्म गोष्ठी र जातीका मानिसहरू समान रूपमा अघि बडेका देख्न पाइन्छन्



२.५ नियाँबरमक्षेत्रको राजनैतीक अवस्थिति

भारतमा लगभग २०० वर्षसम्म अंग्रेजले शासन गरे। सन् १९४७ मा भारत स्वतन्त्र भए पछि पनि सिक्किम एउटा राज्य नभएर देशको रूपमा नै रहि रह्यो। सम्पूर्ण सिक्किममा राजशासन भएको कारणले गर्दा दक्षिण सिक्किमअन्तर्गत पर्ने नियाँबरममा पनि त्यही शासन चलेको थाहा लाग्छ। पुस्तक तथा कथाका आधारमा सिक्किमको पश्चिम भाग र दक्षिण भागमा नेपालको गोर्खा सेनाले अतिक्रमण गरेका थिए र त्यसै सेनामा कालु पाँडे पनि थिए। धेरै समय सिक्किमको सेना र गोर्खा सेना माझको युद्धले सिक्किमको सेनालाई धेरै ठूलो क्षति पुर्‍यायो। धेरै समय युद्धको अन्तरालमा राजाले गोर्खा सेना र सिक्किम राजाको बीच मैत्रिक सम्बन्धको निर्णय गरे। कालु पाँडेले मैत्रिक सम्बन्ध स्वीकार गरे पछि गोर्खा सेनाहरूले टिष्टा नदीमा खुँडा पखालेर माङ्लेमा देउराली स्थापित गरी त्यही छेउमा रणचण्डीकाको पुजा गरेर फेरि पश्चिम सिक्किम हँदै नेपाल फर्केको कुराहरू जनश्रुतिमा छ। त्यसपछि भने सिक्किमको अरू जगामा जस्तै नियाँबरम पनि राजा, मुक्तिया, मुखिया आदिको अधिनमा रहेको थाहा लाग्छ। ऋण तिर्न नसकेको खण्डमा अहिलेको माङ्ले बजार र माखा बजारमा जमीन लिलामीको सुन्वाही हुन्थ्यो। राज शासन सहेर तथा राजालाई ऋण तिरेर बसेका नियाँबरमका मानिसहरू अझै पनि राजनितीको क्षेत्रमा सक्षम र सफल देखिन्छन्। सन् १९७५ मा सिक्किम भारतमा विलय भए पछि धेरै वर्षसम्म नियाबरम राभङ्ला महकुमाअन्तर्गत रह्यो भने अहिले दक्षिण सिक्किमको याङगाङ महकुमामा अन्तभुक्त भएकोछ।



२.६ निष्कर्ष

नियाँबरम क्षेत्र सिक्किमको एक ऐतिहासिक स्थानहरू जगामध्येको एक हो। जुन ठाउँमा गोर्खाली सेना र सिक्किमको सेना माझको युद्ध इतिहासको  केही विषय वस्तुहरूको वर्णन गरिएको पाइन्छ। यस नियाँबरममा प्राचिनकालदेखि नै विभिन्न जनगोष्ठीका मानिसहरू बसोबास गर्दै आएका छन्। नियाँबरमको भौगोलिक बनोट भिर पखेरा आदिको भए तापनि नियाँबरममा बस्नको लागि त्यति असुविधा छैन।













तेस्रो अध्याय



३ नियाँबरम क्षेत्रको लोकसांस्कृतिक अध्ययन

लोकसंस्कृतिका विभिन्न तत्त्वहरू मध्ये खाद्यवस्तु तथा रहनसहन पनि ती तत्त्वहरूभित्र पर्दछन्। खानपिनले कुनै पनि समाजको स्थिति के कस्तो छ भन्ने कुरालाई पनि देखाउँने गर्दछ। त्यसैले यहाँ छोटकरीममा नियाँबरम क्षेत्रमा खानाको परिकारबारे चर्चा गर्न प्रासङ्गिक हुनेछ। नियाँबरमका नेपाली जातिको खानपिन भात र रोटी नै देखिन्छ भने यस अतिरिक्त गहुँ, मकै, कोदो आदिको पीठो पानीमा हलुवा जस्तै पकाएर खाने परिकार पनि प्रचलनमा आएको पाइन्छ। यसैले गहुँ कोदो आदि मुख्य गरी रोटीकै रूपमा खाइने गरेको पाइन्छ।

    नियाँबरम क्षेत्रमा खानका लागी विभिन्न परिकार बनाउनमा प्रयोग हुँने चामल र मकै नै हो। चामलबाट भात, पुवा, सेल रोटी र अन्य परिकार बनिन्छ। त्यस्तै मकैबाट मकैको चामल पिठो र डिँढो खाद्य परिकारहरू बनाइन्छ। नियाँबरममा प्रचलित केही खानपिन यस प्रकार छन्।



३.१ चामल र चामलको पीठोबाट बनाइने परिकारहरू

चामल मुख्य रूपमा साँझ विहान भातको रूपमा खाइन्छ। भात पकाउँदा विशेष गरी सामान्य पनीमा पकाइन्छ भने कुनै बेला मकैको चामल धानको चामल मिसाएर पकाइन्छ। चामलमा कोदोको पीठोलाई गीलो बनाएर तीन-चार फेरो (घेरा) बनाइ घिउमा पकाइने परिकारलाई बाबर भनिन्छ। यसमा गुलियो हालिँन्दैन। गुलियो पीठोलाई तीन-चार फन्का घुमाएर बनाएकोलाई सेल रोटी भनिन्छ।





३.१.१ ढकने

ढकने चाम्रेलाई जस्तै घ्यूमा चामललाई भुटेर केही रातो चामल भएपछि पानीको बद्लिमा दूध मिसाएर निकैबेर आगोको ज्वालाले भर्सिदै पाकेको ढकने हो। मसला स्वाद अनुसार चिनीको प्रयोग साथै मसला जस्तै प्रकारले काजु, बदाम, किस्मिस, नरिवलका टुक्रा, अलैंचीको धुलो आदि लगाएर बनाइन्छ र ढकने शब्द नेपालबाट नै शुरू भएको हो।



३.१.२ खीर

खीर दूधमा चामल लगाएर स्वादअनुसार  चिनीको प्रयोग साथै मसला जस्तै प्रकारले काजु, बदाम, किस्मिस, नरिवलका टुक्रा, अलैंचीको धुलो आदि लगाएर बनाएको एउटा स्वादिष्ट खाद्य पदार्थको नाम हो खीर। दूधमा चामल हाल्दै अन्दाजका निम्ति पन्युँलाई ठाडो पारेर चामलमा गाड्दा यदि त्यो अडिए चामल थप्नु हुँदैन र पुन्युँ लडे अझ चामल पाक्न सक्ने अढकल लगाउने गर्छन्छ। यसता मीठा व्यञ्जनहरू नेपालीको गरमा बेलुका खाने गर्छन किन कि यस्तो व्यञ्जन पकाउन धेरै समय पनि लाग्ने गर्दछ र अरू बेला समयको अभावले गर्दा पनि यस प्रकारको व्यञ्जनहरू बेलुका बनाएर खाने चलन चलेको हो। यात एक छाक मीठो खान सबै जहानको बेलुकी मात्र भेट भएको हुनाले यसलाई प्रायः बेलुकी पकाएको हुनसक्छ।



३.१.३ सेलरोटी

सेलरोटी धानको चामल अथावा अन्य सामान्य चामललाई केही समयसम्म भिजाएर ढिकी, ओख्ली वा मिलमा पिँदेर धूलो पारेको पीठोलाई पानीमा घोलेर गीलो बनाइन्छ। यसरी गीलो बनाएको पीठोलाई हातका साहाराले तातो तेलमा घुमाउँदै पकाइने रोटीलाई सेल रोटी भनिन्छ। तिहारका बेलामा मात्र नेपालीका घरमा पाक्ने यो रोटी आजकल मरउ, पूजा, विवाह, व्रतबन्ध, भोज भतेर आदिमा सबै ठाउँमा प्रयोग गरिने गरिएको पाइन्छ।



३.१.४ फुलौरो

फापरको पिठोमा नून हालेर डल्लो हुने गरी मुछेपछि तेलमा पकाएर खाने वस्तुको नाम हो फुलौरो।



३.१.५ चाम्रे

चामलमा नून र बेसार हाली घिउ वा तेलमा भुटेको खाद्यन्नलाई चाम्रे भनिन्छ।



३.१.६ जाउलो

चामलमा नून र बेसार हाली धेरै पानीमा पकाएको खाद्यन्न हो जाउलो।



१.१.७ खीचडी

एकै ठाउँमा विभिन्न खाद्य वस्तु जस्तै चामल, विभिन्न प्रकारका दालहरू मिलाएर पकाएको खाद्य वस्तुको हो खिचडी।



१.१.८ कसार

विवाह, व्रतवन्धस आदि शुभकार्यमा चामलको पीठो भुटेर सखर मिलाई मुठिले बाटेर बनाएको खाद्य वस्तु हो कसार।



१.१.९ पुवा

चामल आदिको पीठो र्‍योलेर गुलियो हाली वा नहाली घिउमा भुटेर बनाएको खाद्य वस्तु हो पुवा।



१.१.१० चिउरा

धानलाई उसिनेर भुटेपछि ढिकिमा कुटेर च्याप्टो पारिएको खाद्य वस्तुलाई चिउरा भनिन्छ।



३.२ गहुँको पीठोबाट बन्ने परिकारहरू

चामलपछि बढि प्रयोग हुने अर्को खाद्यन्न गहुँ हो। यसबाट पनि विभिन्न परिकारहरू तयार गरिन्छ। गहुँको पीठोबाट बनाइने रोटी यहाँको दोस्रो मुख्य खाना हो। यस क्षेत्रमा पनि बिहान भात बेलुका रोटी खाने चलन यथावत नै रहेको पाइन्छ। गहुँ भुटेर पीठो बनाइ गुँड मिसाएर पनि खान्छन त्यसलाई सातु भनिन्छ। यी मध्ये गहुँको सब बन्दा बडी प्रयोग रोटीमा नै गरेको पाइन्छ।



३.३ मकैबाट बनिने खाद्यान्नहरू

३.३.१ ढिँडो

मकैलाई मसिनो पारी पिँधेर पानीमा फत-फताउँदै त्यही मकैको पीठोलाई हालेर बनाएको खाद्यन्नलाई ढिँडो भनिन्छ। यो खाद्य पदार्थ अडिलो भएर होला महीसँग  प्रयोग गरी खाएका हाम्रा बाबा आमाहरू खँदिला साथै बलिया देखिन्छन्।
ढिँडो भन्नाले मकैको दानालाई पिसेर चामल बनाएर खाने गर्दछन्। यो उहिले प्राय गाउँ बस्तीमा बेसी मात्रमा खाने गर्थे तर अहिले
यो खाद्य हराउँदै गएको छ। 

३.३.२ सातु

भुटेको मकै, चाना, जौँ, गहुँ आदि जाँतो वा अन्य कुनै चिजमा पिसेर धुलो बनाएको खाद्य वस्तु हो सातु।



३.४ हरियो सागपातबाट बनिने खाद्य परिकारहरू

३.४.१ गुन्द्रुक

गुन्द्रुक नेपाली जातिको प्रिय सब्जी हो। यो गुन्द्रुक छिपिएको रायो वा मूलाको साग टिपेर घाममा केही दिनसम्म ओइलाए पछि केही गहिरो खाडलमा माटो नलागोस भन्ने खातिर बाँसको खपेटा, पराल, कोदोको नल खाल्टाको वरि परि लगाएर लग भग २०-२५ दिन सम्म राखिन्छ र त्यसपछि बाहिर निकालिन्छ। निकालिए पछि यसलाई केही दिनसम्म घाममा सुकाइन्छ।



३.४.२ सिस्नुको फूल

बिझ्ने र पोल्ने तीखा सेता नरम काँडा हुने घाँस जातीय उद्भिद जसको हरियो मुना र फूल पकाएर सब्जीको रूपमा खाने गरिन्छ।









३.५ बाँसका कलिला टुसाबाट बनिने खाद्य परिकार

३.५.१ तामा

तामा एउटा बाँसको टुसालाई भनिन्छ। यो बाँसको टुसालाई एउटा सब्जीको रूपमा मात्र प्रयोग नगरेर बयममा हालेर अचारका रूपमा पनि प्रयोग गरिएको पाइन्छ। मानिसहरूले तामालाई आ-आफ्नो प्रकारले खानामा प्रयोग गरेका छन्।



३.५.२ मेसु

बाँसको टुसा बतल वा ढुङग्रोमा हालेर अमिल्याएको अचारलाई मेसु भनिन्छ।



३.६ कन्दमूल आदि खाद्य परिकार

३.६.१ तरूल

सखरखण्ड, इस्कुस सिमल तरूल, घर तरूल, वन तरूल, आलू, गिठा, भ्यागुर आदि लहरा जाति उद्भिदको जराको नाम हो तरूल। तरूल विशेष माघे सक्राँती पर्वमा खाने गरिन्छ।



३.७ दूधबाट बनिने खाद्य परिकार

३.७.१ कुराउनी

धेरै बेरसम्म दूध तताएर कुँडेमा नै टाँसिएको खाद्य वस्तुलाई कुराउनी भनिन्छ। कुराउनी पनि नियाँबरम क्षेत्रमा खाने चलन छ।





३.७.२ दही

दूध जमाएर बनाएको खाद्य वस्तु हो दही। दही खानमा मात्र प्रयोग नगरेर पूजादि कुनै धार्मीक कार्यक्रममा पनि यसको प्रयोग गरेको पाइन्



३.७.३ मही

दहीलाई ढुङ्ग्रो वा ठेकीमा घोलेर घिउ निकाले पछिको तरल पदार्थलाई मही भनिन्छ। महीलाई भोजन वा तिर्खा मेट्न यत्तिकै पनि पिउने गर्दछन्।



३.७.४ घिऊ

दहीलाई ठेकीमा हालेर घोलेर(मथेर) निकालिएको सार वस्तुलाई घिऊ  भनिन्छ। दूध, दही, मही, र अन्तमाको निचोडमा घिऊलाई निकालिन्छ।



३.७.५ छुर्पी

महीलाई उमालेर निकालिएको सार वस्तु हो छुर्पी। छुर्पीलाई अचारमा प्रयोग गरिएको पाइन्छ।



३.८ नियाँबरमका अन्य खाद्यन्नहरू

३.८.१ खल्पी

रायो, बेसार, नून, तेल आदिमा मुछेर केही दिन घाम वा आगाको रापमा सुकाएर राखेको अचारलाई खल्पी भनिन्छ।



३.८.२ क्वाँटी

दाल जातिका दानाहरूलाई छासमिस बनाएर पानीमा भिजाएर टुसा निस्केपछि पकाएर खाने वस्तुलाई क्वाँटी भनिन्छ।



३.८.३ सिन्की

विशेष मूलालाई कुच्याएर वा चाना पारेर ढुङ्ग्रो वा टिनमा खाँदेर अमिल्याएर सुकाएको चिजलाई सिन्की भनिन्छ। नेपाली जातिको खाद्य परिकारमा सिन्कीको पनि अति ठूलो महत्त्व रहेको छ।



३.८.४ किनेमा

भटमास उसिनेर खरानीमा मुछी धेरै दिनसम्म गुम्स्याएर राखेको खाद्य बस्तु हो किनेमा।



३.८.५ जाँड                   

उसिनेको अन्नमा मर्चा मिलाइ गुम्स्याएर बनाएको नसा लाग्ने खाद्य वस्तु हो जाँड। जाँड बनाउने प्रक्रिया राई, लिम्बु, भोटिया, शेर्पा, गुरुङ आदि जातिहरूमा अत्याधिक पाउछौँ।



३.९ नियाँबरम क्षेत्रको भेषभूषा

मानिसको आफ्नो पहिचानको एउटा साधन भेषभूषा पनि हो। नियाँबरम क्षेत्रमा क्षेत्री, बाहुन, गुरुङ, सुब्बा, राई र अन्य जातिका मानिसगरू बसोबासो गर्दै आएका छन्। सबै यहाँ एकै साथमा बसोबासो गर्ने भए तापनि यी सबै जातिका मानिसहरूको भेषभूषा आ-आफ्नै छ। प्राचिन समयदेखि नै भेषभूषाले एउटा जातिको पहिचान दिँदै आएको छ र आज पनि त्यो भेषभूषाले नियाँबरममा बस्ने मानिसहरूको पहिचान दिन उत्तिकै सफलता पाउन सक्षम भएको पाइन्छ। नियाँबरममा बस्ने जातिको भेषभूषलाई हेर्न पर्दा सबै जातिले आफ्नो भेषभूषालाई मान्यता दिए पनि वर्ष भरि आफ्नो भेषभूषालाई पहिरन गरेको पाइन्दैन। नियाँबरममा मात्र नभएर भारतको कुनै पनि कुनामा आज पाश्चात्य भेषभूषाको सरलताको प्रभावले गर्दा होला नियाँबरममा पनि आफ्नो भेषभूषा भन्दा पाश्चात्य भेषभूषा नै चल्तिमा आएको छ। यी सबै उपर्युक्त पाश्चात्य भेषभूषाको प्रभावलाई नियाँबरममा देखिए तापनि त्यहाँका जन गोष्ठीले कुनै पनि शुभकार्य पूजा, विवाह, तथा धार्मिक उत्सवहरूमा आफ्नो पहिरनलाई भुलेका छैनन्।  



३.१० नियाँबरममा अवस्थित लोकउपचार विधि

अन्य खाद्य पदार्थ र कन्दमूलहरू जस्ता वस्तुले आफ्ना जीवन उपार्जन गर्ने मानव जाति आफ्नै घर घुरेन झारपातद्वारा नै आफ्नो र परिवारकै स्वस्थ उपचार गर्ने गर्दथे। वर्तमानमा जस्ता साधारण विमारीमा पनि बजारमा पाइने औषधीका सेवन उपलब्ध नभएर हो वा नचाएर उपभोग गर्दैनथे। अस्सी र नब्बेको उमेर सम्म बाँच्ने हाम्रो पिता पूर्खा आफ्नै बारीमा फलेका फुलेका प्राकृतिक मलयुक्त अन्न पात, साग, सब्जी आफ्ना गाई गोठमा बनाएको दही, दूध, घिउ, र मही जस्ता तागतिला वस्तुको सेवन गर्दथे र नै लामो उमेर बाँच्दथे भन्दा अन्यथा नहोला। यस्ता पोषण युक्त खानपिन खाए पछि परिश्रमले उनीहरूमा रोग पनि कम्ति लाग्दथ्यो निरोगी रहनुको कारण पनि यसैलाई मानिनु पर्छ। साधारण सर्दी, रूगामा आज जस्ता गोली नखाइ अबिजालोद्वारा नै जाति पार्दथे। कालीझार, ठाडे उन्यू, जस्ता झारले ठूला ठूला काटेका ठाउँबाट खून रोक्दथे। बोझो, फच्याङ जस्ता दवाइका रूपमा रहेका झारपातको आजकल कसैलाई पत्यारा नलागे तापनि कतिपय बूढा पाकाहरू पूरा विश्वास राख्दछन्। यसै शिलशिलामा नियाँबरममा प्रचलित लोक अपचार विधिलाई यस प्रकार राखिएको छ।



३.१०.१ कुटकी

ठूला ठूला जंगलमा निलो फूल फूलपछि काला फल लाग्ने झुप्पा झुप्पा पात हुने एक प्रकारको भुइझार कुट्की हो। यसकै डाँठ  वा जरालाई सुकाएर औषधिका रूपमा प्रयोग गर्ने गरिन्छ। यसले पक्षघाति रोगमा फाइदा पुर्‍याउने गर्दछ। दिशा नलागेमा यसले खुकुलो गराउँछ वान्ता रोक्नमा मदत पुर्‍याउने हुनाले यसलाई धेरैवटा औषधिका रूपमा लिने गरिन्छ जुन कुरा आज पनि नियाँबरममा चलिरहेको छ[३]



३.१०.२ पाखनबेद

पाखनबेद भनेर चिनिने यो औषधि मानिसले प्राय घरको देवलमा रेप्ने गर्दछन्। जंगलमा फस्टाए तापनि मानिसहरूले घरतिरपनि त्यतिकै लाभदायक सम्झेर स्यारेको पाखनबेद ठूला ठूला बाक्ला पात भुइमा नै टालिएको झैँ देखिने सेता, राता, साना साना फूल फूलेका एक जातको जडी बुटी हो। पाषण बेदले भन्दा नेपाली समाजमा पाखन बेदले, परिचित यो औषधिको डाँट वा जरालाई विशेष प्रयोग गरिन्छ।



३.१०.३ चिराइतो

लेकखण्डमा पाइने एक प्रकारको जंगली झार जस्लाई विशेष औले ज्वरो साधारण ज्वरो साथै जीउ दुखेमा खान सकिन्छ। यसको डाँक्लालाई पानीमा धेरैबेर उमालेर बनिएको चिया जस्तो रसलाई पिउनु पर्छ। तितो भएको कारण यसलाई निल्न त्यति सजिलो नभए तापनि निलिसकेपछि यसले स्वस्थमा लाभ चाहिँ अवश्य पुर्‍याउँछ। आज भोलिको दिनमा चिराइतो सबै तिर पाउँन नसकेको कारणले गर्दा मानिसहरूले यसको सट्टामा निमपत्तिको पनि प्रयोग गरेको पाइन्छ।



३.१०.४ हड्चुर

प्रकृति सम्बन्धि नामले समाजमा उति स्थान नपाए तापनि हड्चुर भन्ने बित्तिकै कान ठाडा भइहाल्छन्। यो औषधीय उद्भिद अन्य कुनै रूखका हाँगामा आश्रित रहन्छ। यसलाई सुकाएर बनाएको लेपलाई भाँचिएको हड्डी वा फुटेमा जोड्न उपयोगी हुने गर्दछ। यो एउटा लहरो विशेष उद्भिद हो जसलाई हामी लेकखण्डमा ठूला ठूला जंगलहरूमा मात्र पाउने गर्दछौँ।



३.१०.५ बूडो ओखती

लेकखण्डको पनि निकै उचाइमा पाइने यो ओखतीलाई (औषधी) बूढो ओखत, बूढो ओखती पनि भन्ने गरेको पाइन्छ। विशेष गरि यसको धूलो, मह, धानको पीठो, सोप जस्ता चीजलाई घ्यूउमा भुटेर सुत्केरीलाई ख्वाउँदा अत्यन्तै लाभ पुग्ने गर्दछ। सुत्केरीले मात्र नभएक साधारण मानिसले पनि यसको उपभोग गरेमा शऱीर दुखेको जाति हुन्छ भन्ने पूर्वजहरूको भनाई रहेको पाइन्छ।

३.१०.६ बिखमा

पाहाडी खण्डमा मात्र  पाउने यो एउटा अत्यन्त लाभकारी औषधी हो। यो औषधी औधि तीतो हुन्छ। यसका साना टुक्रालाई मुखमा च्यापेर राख्न पर्दछ नभए पानीले निलेमा नाश कपट जस्त स्वस्थ नाश रोग निको पार्न सकिन्छ। खाना नरूचेर अमन भइरहेमा पनि यसका टुक्रा निल्नाले फायदा अवश्य पुग्दछ। यो सेतो र कालो दु थरिका पाइन्छन्। यो दवाइ खाँदा बेसीमात्रमा भए यो प्राण घातक पनि हुन सक्छ।



३.१०.७ चिङ्गफिङ

झुप्पा, झुप्पा गरी फल्ने यो चिङ्फिङलाई पनि औषधिका रूपमा  स्विकारेका छन्। सिंहे-सिंडीमा विश्वास राख्ने नेपाली जातिका सदस्यहरू अझै पनि यस्तै वनौषधिद्वारा नै रोग निको परिरहेका छन्। यस्तै भूतप्रेत, बोक्सी डाइनी भन्ने अदृष्य विश्वासमा, भुँडी दुखेमा टाउको दुखेमा, साधारण विरामीमा यस्तै औषधीहरू माडमुड पीरेर दुखेका जगामा लगाउँथे र जाति हुन्थ्यो अद्यापि जाति हुँदै पनि छन्। अचारको रूपमा पनि यसलाई पिसेर खाने गरिन्छ जो स्वस्थको लागी लाभदायक मानिन्छ।



३.११ नियाँबरमको लोकसंस्कृति

संस्कृति कुनै पनि समाज, गोष्ठी वा जातिको आत्मा हो। संस्कृतिको शाब्दिक अर्थ हुन्छ सम्यक् कृति, उच्च प्रकारले गरिएको कार्य, सफा वा परिष्कृत गर्नु, तथा अभिप्राय बुद्धि, सुधार, संशोधन, परिमार्जन वा आभ्यन्तर रूपको प्रकाशन गर्नु। साधारण रूपमा भन्नु पर्दा आज विश्व भरि नै मानिस छरिएर बसेका छन् ती सबै मानिसहरूलाई चिनाउँने साधन के छ त भन्दा केवल संस्कृति  हो।  नेपाली भाषा बोल्दै र लेख्दैमा कोही नेपाली हुने होइन, न त अंग्रेजी भाषा बोल्दै र लेख्दैमा कोही अंग्रेज हुँने होइन। संस्कारको परिस्कारबाट संस्कृतिको जन्म हुन्छ। संस्कृति एउटा ठोस वस्तुको नमूनामा सीमित रहँदैन, यो त समाज व्यक्ति र युगलाई समेटेर अघि बडाउँदै नयाँ नयाँ कलात्मक अनुभूतिले पोष्ठित गर्दै पुरातन मान्यताहरूलाई आफ्नै शैलिमा बचाएर राख्ने काम मात्र हो। धर्म ग्रन्थ पूराणादिका अनुसार मानव शरीर पञ्च तत्त्व पृथ्वी, अग्नी, जल, वायु, आकाश यी पाँच तत्त्वले बनेको हुन्छ र प्राणीको जन्म देखि नै यी वस्तुहरूसँग निकट सम्बन्ध रहेको पुराणादिमा उल्लेख गरेको पाइन्छ। जन्म उप्रान्त नै पञ्च तत्त्वहरूसँग मानव जीवनको परस्पर सम्बन्ध रहेको कारणले विभिन्न पर्व आदिमा पञ्च तत्त्व पृथ्वी, तेज, जल, वायु, आकाशलाई देवताको प्रतीक मानेर पूजा गर्ने संस्कृति नियाँबरमक्षेत्रमा आज पनि चलिरहेको पाइन्छ।



३.१२ नियाँबरममा अवस्थित लोककविता

३.१२.१ खाँडो

शाहवंशका राजाहरूले प्रशंसा गरी रचिएको एक थरीको कवितालाई खाँडो भनिन्छ। दसैँमा भवानीको पूजा गर्दा खड्गको पूजा गरेपछि सो खड्ग हातमा लिएर नचाउँदै गाइने कवित्त शैलीको गीत नै खाँडो हो। यसैलाई खाँडो जगाउन पनि भनिन्छ। छोरीको विवाहमा पनि खाँडो जगाउने चलन छ। त्यस अवसरमा विवाहको मण्डपमा खाँडो जगाए पछि केराको थाम काटेर खाँडो जगाउने रीति पुरा गरिन्छ। नेपाल अंग्रेज युद्धका समयमा खाँडोले व्यापक रूप लियो र युद्धमा शत्रुसँग लड्ने भावनाको विकास गर्‍यो। यसैकारणले गर्दा पनि नेपाली समाजमा खाँडोले उच्च दर्जा पाएको छ र विवाहमा खाँडो जगाउने रीति आज पनि नियाँबरममा उस्तै देख्न पाइन्छ।

 कालीभक्त पन्तद्वारा उदृत खाडोको एउटा अंश यस्तो छ।



श्री प्रतापी महाराज राणाजीके वंशमे

पूर्वपश्चिम उत्तर दक्षिण चारै दिशा जित्नको

 लङ्का पलङ्का जित्नको

नागादेश घोर्मुख जित्नको

शूरवीर सेना चलते हैँ

हात्ती घोडा रथ रथान चल्ते हैँ

भला बर्छा धनुर्बाँण चल्ते हैँ

असियान खान चलते हैँ

राजा विजय करान चलते हैँ

जागरे खाँडो जागरे जगरे जागरे।



३.१२.२ बालकविता

नेपाली समाजमा मात्र नभएर सम्पूर्ण चराचर जगतका बालबालिकाहरूलाई बाल्यअवस्थामा मनोरञ्जन दिनका उद्देश्यले बालकविताको रचना गरिएको हुन्छ। त्यस्तै प्रकारले नेपाली समाजमा पनि बालबालिकाहरू केही गीत एक्लै वा समूहमा गाउँछन्। यस्ता गीतहरूमा बाजा पनि बजाइँदैन नाच वा खेल पनि हुँदैन। यी गीतहरूलाई बालकविता भन्न सकिन्छ। कमिला र मौरी जस्ता कीरा, काकाकूल परेवा र जुरेली जस्ता आकाशमा उड्ने पक्षी, घाम पानी जस्ता प्राकृतिक वस्तु तथा वर्षा र जाडाका दिनहरू यिनका कविताका विषय बनेका हुन्छन्। कमीलाका लामहरू देखेर बालबालिकाहरूलाई अनौठो लाग्छ। मौरीको भुन भुन सुनेर उनीहरू रमाउँछन् र मौरीको समूह उनीहरूकै नजीकमा बसे हुँदो हो भनि इच्छा प्रकट गर्दै "बस बस मौरी बुधबार जाउली हाम्रा घर घरमा बास बस्न आउली" भन्दै नानीहरू गीत गाउने गर्छन्।

बालकविताको केही उदाहरण यस प्रकार छ-

बस बस मौरी भोली बुधबार

फलफूल दिँउला देउ मह घर

काग दाजु कोकले

भाउजू मरिन भोकले

मकै भुटी किर्कौँला

ढुङ्गा टिपी हिर्काउँला

चोर्न चाइ त बरु,चोर्न चाइ त बरु

छुट्टिइ बसौँला छुट्टी बसौँला।



३.१२.३ दोहा

अन्यानुप्रास मिलाई दुवै चरणका आठौँ र छैठौँ अक्षरमा विश्राम हुने चौध अक्षरका दु चरण हुने छन्दलाई नेपाली विद्वानहरूले दोहा भनेका छन्।[५] लोककविताका रूपमा यसका नमुना कोही पुराना पनि भेटिन्छन्। सिर्जनात्मक साहित्यमा पनि दोहाको प्रयोग भएको छ। विवाहका समयमा बेहुला र बेहुलीतर्फका मान्छेहरूले दोहामै पनि प्रश्नोत्तर गर्छन्। नेपाली समाजमा धेरै लोकप्रिय यो दोहा एक्लै वा समूहमा विभिन्न उमेरका व्यक्तिहरू गाउने गर्छन्, आजको समयमा पनि नियाँबरममा यो परम्परा यथावत् पाइन्छ। विवाहका अवसरमा भत्केरूसंगको प्रशेनोत्तर यस्तो हुन्छ।

प्रश्नः   कति आयौ बूढा पाका कति ल्या

          कति आयौ फटाफटी बोल्ने कति आयौ लोते

उत्तरः धैरै आयौँ बूढा पाका चाहिँदो ल्यायौँ पोते

        धेरै आयौँ फटाफटी बोल्ने थोरै आयौँ लोते।

        अम्बक पाक्यो लदबद् कौवा उड्यो वेग

        माया लाउने हजार जना लहना लाउने एक।



३.१२.४ सिलोक

पिङ्गलका नियममा आधारित विभिन्न शास्त्रीय छन्दमा रचिएका फुटकर पद्यहरूलाई सिलोक भनिन्छ।[६] यी सिलोकमा मानिसहरूले आफ्नो परिचय दिन्छन् अनि आफ्ना घर गाउँको, गाई भैँसी र कामकुराको वर्णन गर्छन्। सिलोकहरू शार्दूलविक्रीडित, स्रग्धरा, वसन्ततिलका जस्ता केही प्रसिद्ध छन्दका ढाँचामा लेखिएका छन्। छन्दमुक्त सिलोकहरूमा छन्द भङ्गको प्रभाव पनि देख्न पाइन्छ। आजको समयमा पनि विवाह, पूजाआजामा सिलोकले नियाँबरमक्षेत्रमा उत्तिकै महत्त्व पाएको देखिन्छ।

सिलोकको उदाहरण यस प्रकारको छ-

"घाँस काट्न भनेर गएको मथिएँ घाँसै काटेँ कुर्कुरे।

सिलोक भन्न तँ सिपालु रहेछस् लागोस् तँलाई तुर्तुरे।।

घाँस काट्न भनेर गएको मथिएँ घाँसै काटेँ गेडुले

सिलोक भन्न तँ सिपालु रहेछस् स्वास्नी लगोस् ढेडुले।।"





३.१३ नियाँबरमको लोकचाडपर्व

चाडपर्व भन्नाले कुनै खास दिन तथा तिथिमा विभिन्न जातजातिका तथा समुदायका मानिसहरूले विशेष पर्वको रूपमा मान्ने र विभिन्न देवदेवीहरूको पूजाआजा गरी भोज भतेर खाई नाचगान गरी  रमाइलो गर्ने दिनलाई भनिन्छ । मेलापात भन्नाले धेरै मानिसहरू एकै ठाउँमा जम्मा भई मनाउने जात्रा,  यात्रा तथा उत्सवहरू हुन् । जात्रा  भन्नाले साधारणतया हामी देवीदेवताको रथयात्रालाई भन्दछौं । त्यस्तै, परम्परा भन्नाले धेरै समयअघिदेखि चलिआएका विभिन्न किसिमका रीतिथिति, प्रचलन तथा प्रथाहरू हुन्। नेपाली संस्कृतिमा विभिन्न प्रकारका चाडपर्वहरू ऋतु  अनुसार मनाएको पाइन्छ। कुनै चाडपर्व ऋतु अनुसार मनाएको पाइन्छ भने कुनै चाडपर्व धार्मिक तिथिको आधारमा मनाएको पाइन्छ। प्रायः सबै चाडपर्वहरूमा धार्मिक तथा पौराणिक कथाहरू गाँसिएको पाइन्छ।  सर्थ नेपाली चाडपर्वलाई वर्गीकरण गरेर र्ग छुट्टाए तापनि ती पर्वहरू अर्को वर्गसँग कुनै न कुनै रूपमा सम्बन्ध रहीरहेको पाइन्छ। नेपाली चाडपर्वलाई निम्न वर्गहरूमा [७] विभाजन गर्न सकिन्छ।

 क.  ऋतुगत चाडपर्व- दसैँ, तिहार, वसन्त पन्चमी, नववर्ष, असारको पन्ध्र, मकर सङ्‌क्रान्ति, साउने सङ्‌क्रान्ति ल्होसार, सकेवा आदि।

. धार्मिक चाडपर्व-  कृष्ण जन्मअष्टमी, बुद्ध जयन्ती, गणेश चतुर्दर्शी, शिवरात्री पूजा, सरस्वती पूजा, दुर्गा पूजा, नागपञ्‍चमी, तीज  आदि।

. चेली-माइतीको पारस्परिक प्रेम दीर्घायुका लागि भाईटिका र राखी (रक्षा बन्धन)।



३.१४ प्रमुख नियाँबरमका चाडपर्वहरू यस प्रकारका छन्

३.१४.१ राम नवमी

चैत्र शुक्ल प्रतिपदादेखि नवमीसम्मलाई नवरात्र भनिन्छ। नवमीको दिन विशेष भगवान श्रीरामको जन्म दिन भएकोले रामनवमी पर्वको रूपमा मनाएको पाइन्छ।



३.१४.२ हनुमान जयन्ती

चैत्र शुक्ल पूर्णीमाको दिनलाई हनुमान जयन्तिको रूपमा मनाइन्छ।



३.१४.३ मातातीर्थ औँसी

 बैशाख कृष्ण अमावस्य तिथीमा आमाको मुख हेर्ने प्रचलन रहेको पाइन्छ। यसैलाई मातातार्थ औँसीको रूपमा पनि मानिन्छ।



३.१४.४ अक्षय तृतीया

वैशाख शुक्ल तृतीयालाई अक्षय तृतीया भनिन्छ। यो दिन शिव पार्वतीको विवाह भएको हुँदा पवित्र दिवस भनेर मानिन्छ। यस दिन जौको सातु सर्वत्र खाने प्रचलन छ। अक्षय तृतीयालाई त्रेता युग शुरू भएको मानिन्छ।



३.१४.५ बौद्ध जयन्ती

वौशाख शुक्ल पूर्मीमामा भगवान गौतम बुद्ध जन्मिनु भएको वा ज्ञान प्राप्त गर्नु भएको हुनाले यस दिनलाई बुद्ध जयन्तिको रूपमा पलन गरिन्छ।



३.१४.६ गोठधूप

जेठ शुक्ल पूर्णीमा गाईपालन गर्नेहरूले उँभौली गोठधूप (रूद्रीपीठ हवन आदि) गर्दछन्।



३.१४.७ ठूली एकादशी

अषाढ शुक्ल एकादशीलाई ठूली एकादशी भनिन्छ। हरीशयनी अर्थात् भगवान विश्राम गर्ने दिन हो। तुलसीको विरुवा रोप्ने दिन भनि यो एकादशी प्रख्यात् छ।



३.१४.८ गुरूपूर्णीमा

अषाढ शुक्ल पक्ष पूर्णीमाको दिन व्यास उपाधिले विभूषित भएका द्वैपायन ऋषि व्यास नामले परिचित हुनुहुन्छ। त्यसै दिनदेखि यो दिनलाई व्यास पूर्णीमा वा गुरूपूर्णीमा भनिन्छ।



३.१४.९ नागपञ्चमी

श्रावण शुक्ल पञ्चमीका दिन भगवान कृष्णले कालीय नाम गरेको नागलाई वसगरी सबैनाग परिवार खुसी भएर कलिकालमा यसै दिन नागको नक्सा बनाइ पूजा गरि दैलोमा लगाउँने विद्युतमय, सर्पभय, अग्नीभय आदि नहुने हुँनाले यो पर्व मनाइन्छ।



३.१४.१० ऋषी तर्पणी

श्रावण शुक्ल पूर्णामालाई ऋषी तर्पणी भनिन्छ। यसमा जनै लगाउने हरूले बिहान नदिमा गई विभिन्न सामग्रीका साथ नुहाउने प्रचलन छ। सप्त ऋषिको पूजा तर्पण गरि पूजा प्रतिष्ठा गरेर नयाँ जनेउ धारण गरिन्छ। रक्षसूत्रको पूजा गरि ब्राह्मणद्वारा हातमा बाँध्ने गरिन्छ। दिदी बहिनीले आफ्ना दाजु भाइको हातमा राखी बाँध्ने प्रचलन छ। यो दिनलाई राखि पूर्णिमा र जनै पूर्णिमा दुवैनामले चिनिन्छ।



३.१४.११ जन्माष्टमी

भाद्र कृष्ण अष्टमीमा भगवान कृष्णले जन्मलिएर पृथ्वीको भार उतारेका थिए भन्ने पुराण आदिमा उल्लेख गरिएको छ। भगवान कृष्णको जन्म भएको कारणले यो दिनलाई जन्माष्टमी भनिएको हो। यो पर्व नियाँबरममा धेरै उत्साहको साथमा मनाइने गरिन्छ।



३.१४.१२ कुशे औँसी

भाद्र कृष्ण अमावस्यका दिन काटिएको कुश वर्ष भरि पूजा पाठमा चलाउने सकिन्छ। यसै दिनलाई बाबुको मुख हेर्ने औँसी भनि जानिन्छ।



३.१४.१३ तीज गणेश चौथी र ऋषिपञ्चमी

भाद्र शुक्लपक्ष तृतीयामा पार्वतीले गरेको निर्जला व्रतलाई नै तीज भनिन्छ। भाद्र शुक्ल चौथीलाई  गणेश चौथी भनिन्छ। भाद्र शुक्ल पञ्चमीलाई ऋषी पञ्चमी भनिन्छ।



३.१४.१४ अनन्त चतुर्दशी

भाद्र शुक्ल चतुर्दशीलाई अनन्त चतुर्दशी भनिन्छ। अनन्त भगवानको पूजाव्रत आदि गरेर चौध शिखायुक्त अनन्तडोर बाँधेर भगवान अनन्तबाट सुख-समृद्धि, धन, धान्य, पुत्रपौत्रादि प्राप्तिको कमना गरिन्छ।



३.१४.१५ सोह्रश्राद्ध

आश्विन कृष्ण प्रतिपदादेखि आश्विन कृष्ण अमावस्यसम्मको समयलाई षोडश्राद्ध(सोह्र श्राद्ध) भनिन्छ। यो समयमा बितेर गएका आफ्ना पितृहरूलाई स्मरण गर्दै पितृ वितेका तिथिमा श्राद्ध वा ब्राह्मण बोलाएर सिदा दान गर्ने चलन छ।



३.१४.१६ बडादसैँ

सत्ययुगमा दुर्गामाताले देवताहरूको कण्टक महिषासुर आदि  राक्षसकहरूको प्राण मात्रको कल्याण हेतु तथा त्रेतायुगमा रामले राक्षसरूपी रावण समेतको वध गरि विजय गरेको दिन आश्विन शुक्ल दशमी थियो। त्यही दिन विजय दशमीको दिनले प्रख्यात भएको छ।  दिनसम्म मनाइने चाड भएकोले दसैँ भन्ने गरिन्छ। त्यति बेलादेखि हामी मानव जातिका यस यसुगमा रहेका राक्षसहरूको पनि विनाश गरि दिन्छन् भन्ने पूर्ण विश्वासले यो दिन मानिसहरूले नव दूर्गा भवानीको पूजा आरधना गरी दशमीको दिन स्वइच्छा अनुसार रातो वा सेतो अक्षताको टिका लगाएको पाइन्छ। टिका लगाउँदा भन्ने मन्त्र-

"आयुद्रोणसुते श्रियो दशरथे शत्रुक्षयं राघववे

ऐश्वर्यं नहुसे गरिश्च पवने मानं च दुर्योधने।।

शौर्य्यं सान्तवने बलं हलधरे सत्यं च कृन्ति सुते

विज्ञानं विदुरे भवन्त भवतः कीर्तिश्च नारायणे।।

जयन्ती मंगला काली भद्रकाली कपालिनी।

दूर्गाक्षेम शिवधात्री स्वाहा स्वधा नमोस्तुते।।



३.१४.१७ कोजाग्रत पूर्णीमा

दसैँको पाँचदिन पिछाडि आउने पर्वलाई कोजाग्रत पूर्णिमा भनिन्छ। यो पर्वमा लक्ष्मी पूजा गरेर रात भरि भजन गर्दै बस्ने गरेको पाइन्छ।



३.१४.१८ यमपञ्चक

कार्तिक महिनाको कृष्णपक्षको त्रयोदशी, चतुर्दशी, औँसी र कार्तिक शुक्लपक्षको प्रतिपदा द्वितीयाका दिन पाँचदिनलाई यमपञ्चत भनिन्छ।



३.१४.१९ कागतिहार

पक्षीमा कागलाई यसराजका दूतका रूपमा मानिन्छ। त्यसैले कागलाई पूजा गर्दै खाने कुरा दिइन्छ। त्यसै दिनलाई धन्तेरस पनि भनिन्छ र सुन, चाँदि आदि किन्ने पनि प्रचलन छ।



३.१४.२० कुकुर तिहार

जानवरमा कुकुरलाई यमदूतकारूपमा मानि  धर्मराज यमलाई सहयोग पुर्‍याएको नाताले चतुर्दशीका दिन कुकुरलाई माला लगाई मीठमीठा खाने कुरा दिएर पूजा गरिन्छ। यसलाई नर्के चतुर्दशी पनि भनिन्छ।

३.१४.२१ गाईतिहार

गाईलाई लक्ष्मीको रूपमा मानिएको छ। त्यसैले गर्दा औँसीको दिनलाई लक्ष्मीपूजा र दीपावली हर्षोल्लासका साथमा मनाइएको पाइन्छ। बिहान गाईको पूजा र बेलुका धान्य लक्ष्मीको पूजा गरिन्छ।



३.१४,२२ गोवर्धन पूजा

लक्ष्मीस्वरूपी गाईहरूको वृद्धी होस भनि गोवर्धन पूजा गरिन्छ। यो पूजामा अघिल्लो दिन गाईको र भोलि पल्ट वर्ष भरि अन्न उब्जाउनमा दुःख गरेका गोरूको पूजा गरिन्छ र गोबरको पर्वत बनाई गोवर्धन पर्वतको प्रतिक मानेर पूजा गरिन्छ।



३.१४.२३ भाइटिका

कार्तिक शुक्ल द्वितीयाका दिन यमराज स्वयं बहिनी यमुनाको घरमा गई बहिनीको ईच्छा पर्‍याउन वरदान दिएको कथन छ। दिदी बहिनीले टीका लगाई आशीर्वाद दिए वर्षभरि आशीर्वाद द्वारा आयु वृद्धिहुने साथै अनिष्ट हुनबाट जोगाउने वाचा गरेको कारणले दिदी बहिनीका घरमा गइ दाजु भाइले टीका लगाउने प्रचलन छ।



३.१४.२३.१ टिकालगाउने नियम

पहिला दीप कलश गणेशको पूजा गरि यमराजको पूजा यमदूतको पूजा र सूर्यादि नवग्रह साथै अष्टचिरञ्जिवीको पनि पूजा गरिन्छ। त्यसका छेउमा दाजु भाइलाई राखि पानी, फूल, अक्षता, तेल, दूवोले परिक्रमा गरि श्रृङ्गार गरि सप्तरङ्ग द्वारा निधारमा टिका लगाइ माला लगाइ मीठा वस्तुहरू भोजन गराएर वर्ष भरिका लागि आशीर्वाद दिने चलन छ। साथै दाजु भाइले पनि दिदी बहिनीलाई टीका लगाएर आशीर्वाद दिने चलन छ।







३.१४.२४ बालाचतुर्दशी

मार्गशीर्ष चतुर्दशीमा मन्दिर परिसरमा सदवीउ पलवीउ छर्ने प्रचलन छ। त्यसै दिनलाई बालाचतुर्दशी भनिन्छ।



३.१४.२५ धान्य पूर्णीमा

मार्गशीर्ष पूर्णामालाई धान्यपूर्णीमा भनिन्छ। यो पर्वमा कूलको पूजा र उँधौली गोठपूजा गर्ने गरिन्छ।



३.१४.२६ पौष औँसी

पौष कृष्ण अमावस्यको दिन गया तथा काँशी नामक तीर्थ स्थानमा गइ श्राद्ध गर्ने गरिन्छ। यो पर्वको दिन गयामा गएर श्राद्ध गर्न नसक्नेले पनि नजिकैको खोलाको बगरमा गएर यथा शक्ति भक्तिपूर्वक पितृलाई तर्पण दिने परम्परा नियाँबरममा पहिला देखि नै प्रचलनमा छ।



३.१४.२७ स्वस्थानी पूजा

माघ कृष्ण प्रतिपदादेखि माघ शुक्ल पूर्णमासम्म एक महिनाको व्रतगर्ने प्रकृया भएकोले श्रीस्वस्थानी माताको पूजा गरि कथा श्रवण गरि अन्त्यमा उद्यापन गरिन्छ।



३.१४.२८ वसन्त पञ्चमी

माघ शुक्ल पञ्चमीमा भगवती सरस्वती माताको पूजा अर्चना गरिन्छ। वसन्त ऋतुमा यो पर्व मनाउनको कारणले गर्दा यो पर्वालाई वसन्त पञ्चमी भनिन्छ।



३.१४.२९ महाशिवरात्री

फाल्गुन कृष्ण चतुर्दशी तिथीमा भगवान शंकरको चार प्रहर पूजा आरती भजन किर्तन गर्दै जागरण गर्दै मनाइने चाडलाई महाशिवरात्री भनिन्छ।



३.१४.३० होली

फाल्गुन शुक्ल पूर्णीमाको दिन होलीका (हिरण्यकश्यपुकी बहिनी होलीका) ले भक्त प्रह्लादलाई मार्ने षड्यन्त्र गरिन्। भगवान विष्णुको कृपा भक्त प्रह्लादमाथि रहेको हुनाले षड्यन्त्रकारी प्रह्लादलाई मार्ने हुँदा होलीकाको आफ्नै मृत्यु भयो। त्यसै दिनदेखि साधारण मानिसले पनि होलिकादहन भएको दिनलाई होलीको रूपमा मनाउने चलन छ।

      यी उपर्युक्त रहेका चाडपर्व बाहेक नियाँबरममा आफ्नो संस्कार र संस्कृति अनुसार क्रिस्मस डे, लोसुङ, लोसार आदि पर्वहरू पनि मान्ने गरेको पाइन्छ।



३.१५  नियाँबरममा  प्रचलित लोकविश्वास

लोकले मान्दै आएको परम्परागत विश्वास नै  लोकविश्वास हो। हरेक मानव समुदायमा कुनै न कुनै प्रकारको विश्वास रहेको पाइन्छ। यस्तो विश्वास स्थान, जातजाति-भाषाभाषी र संस्कृतिअनुसार भिन्न प्रकारको हुनेगरेको पाइन्छ। लोकजीवनमा घट्ने अनेक घटनाहरूले यस्तो विश्वासको जन्म हुने र प्रचलनमा आउने गर्दछन्। धेरै सन्दर्भमा लोकविश्वासको जन्ममा प्रकृतिको योगदान देखिन्छ। प्राकृतिक घटना र आकस्मिकता लोकमा लोकविश्वास जन्माउने र ती विश्वासलाई स्थापित गराउने प्रमुख कारणहरू हुन्। लोकविश्वासलाई अन्धविश्वास र रुढीको रूपमा पनि लिइन्छ। तर सबै लोकविश्वासहरू अन्धविश्वास वा रुढी होइनन्। अन्धविश्वास वा रुढी भन्नका लागि ती विश्वासहरूको वैज्ञानिक परीक्षण गर्नु जरुरी छ। लामो अनुभव तथा भोगाइका परीक्षामा परीक्षण भएर मात्रै लोकविश्वासहरू स्थापित हुने भएकोले प्रायः लोकविश्वासहरू वैज्ञानिक र व्यावहारिक सिद्ध हुन्छन्। कुनै कुनै भने काल र परिस्थितिको पिसाइबाट असत्य बन्न पुग्दछन्। अतः लोकविश्वास, अन्धविश्वास वा रुढी मात्रै होइन,  यो लोकजीवनको ज्ञान र अनुभवबाट जन्मेर स्थापित भएको लोकको विश्वास हो। लोकविश्वासलाई धेरै आधारहरूमा वर्गीकरण गर्न सकिन्छ। जातिको आधारमा,  भाषाभाषीको आधारमा, स्थानको आधारमा, बस्तु र विषयको आधारमा। जातजातिअनुसार वा भाषाभाषीअनुसार पनि लोकविश्वासमा भिन्नता पाइन्छ। स्थान र कालअनुसार पनि लोकविश्वासमा भिन्नता हुन्छ। नियाँबरममा प्रचलित केही लोकविश्वास यस प्रकार छ।



३.१५.१ प्रकृति र प्राकृतिक घटनासम्बन्धी लोकविश्वास

यस अन्तर्गत पृथ्वी र खगोलीय घटना, दृश्य तथा परिवर्तनसँगसम्बन्धी लोकविश्वासहरू आउँछन्  जस्तै-

·      असार महिनामा पूणिर्माको दिनमा पूर्वी हावा चलेको छ भने खेती राम्रो हुने र       पूर्वदक्षिण -आग्नेय कोँणबाट हावा चलेको छ भने अनिकाल पर्छ भन्ने लोकविश्वास        छ।

·         सन्ध्याको बेला आकाशमा बादल छाएमा वषरा हुन्छ भन्ने लोकविश्वास छ

·         इन्द्रेणी लागेमा वर्षा रोकिन्छ भन्ने लोकविश्वास छ।





३.१५.२ ऋतु, महिना, दिन र बारसम्बन्धी विश्वास

·         धेरैमात्रमा समाजमा-मङ्गलबार र बुधबारका दिन उत्तर दिशामा र सोमबार तथा शनिबार पूर्व दिशामा जानु हुँदैन।

·         बिहिबार दक्षिण दिशामा यात्रा गरेमा विना अपराध नै दण्डको भागी हुनुपर्ने लोकविश्वास छ

·         शनिवार र मंगलबारको दिन कतै यात्रा गर्नु हुँदैन यस्तो यात्रा अनिष्टकारी हुन्छ भन्ने लोकविश्वास छ किन की यी बारलाई खरो बारको रूपमा हेर्ने चलन छ।

·         मंगलबारको दिन रात्रीमा बरपीपलको बोटमुनि बोक्सीहरू नाच्ने र बोक्सेरो सिक्ने कार्य हुन्छ भन्ने लोकविश्वास छ।



    ३.१५.३ पशुपक्षीसम्बन्धी लोकविश्वास

·         यात्राको बेला बाच्छा-बाच्छीलाई दुध चुसाउँदै गरेको गाईको दर्शन भए ज्यादै शुभ हुन्छ।

·         बिहान आँगनको डिलनेर आएर काग कराएमा कुनै अतिथि आउँदैछन् भन्ने विश्वास गरिन्छ।

·         माघ महिनामा नाग देखिएमा अपशकुन हुन्छ भन्ने लोकविश्वास छ।

·          यात्रामा बिरालोले बाटो काटेमा वा छेपारोले बाटो काटेमा अपशकुन मान्ने लोकविश्वास छ।

·         रात्रीमा कोइली  नामको चरो कराएमा  जंगली रिसाएक हो भन्ने लोकविश्वास छ।

·         कुकुर एकोहोरो स्वरमा रोयो भने गाउँघरमा अनिष्ट हुन्छ भन्ने जनविश्वास छ।

·         गाउँको नजीकमा प्रायः रात्रीमा ˆफ्याउरो एकोहोरो कराएमा गाउँमा कुनै अनिष्ट हुन्छ भन्ने विश्वास छ

·         तीन थरिको अथवा तिन टाउके मानिसहरू घरबाट बाहिर जानु हुँदैन भन्ने बिश्वास गरिन्छ , किन कि नेपाली समाजमा विजोडी संख्लालाई अशुभ मानिन्छ।



   ३.१५.४ मानव अंग वा आंगिक क्रियासम्बन्धी लोकविश्वास

·         बाडुली लागेमा कसैले प्रेमपूर्वक सम्झना गरेको र घाँटी खस्खसाएमा कसैले कुरा काटेको वा आलोचना गरेको भन्ने लोकविश्वास छ।

पाइतला चिलाएमा कतै यात्रा गर्नुपर्छ भन्ने लोकविश्वास छ।   

·         हात चिलाएमा निकट भविष्यमा कसैबाट पैसा पाइने र नङ फुलेमा नयाँ कपडा प्राप्त हुने लोकविश्वास छ।

·         पुरुषको देब्रे आँखा र महिलाको दाहिने आँखा फर्फराएमा अपशकुन हुन्छ भन्ने लोकविश्वास छ।

·         जिभ्रो टोकिए निकट भविष्यमा मासु खान पाइन्छ भन्ने लोकविश्वास छ।

·         बिरामी 'हाइ' गरेमा रोग लम्बिने र छिउँ छिउँ आए चाँडै निको हुन्छ भन्ने लोकविश्वास छ

·          जिभ्रोको टुप्पो कालो हुने मानिस बोक्सी हुन्छ भन्ने विश्वास छ।

·          निधार वा ललाट ठूलो वा चौडा हुने व्यक्ति बौद्धिक हुन्छ भन्ने लोकविश्वास छ।

·          कान लामा हुनू शुभ हुन्छ भन्ने लोकविश्वास छ।





३.१५.५ शकुन-अपशकुनसम्बन्धी लोकविश्वास

·            यात्रा आरम्भका बेला निःसन्तान महिला देखिएमा अशुभ हुन्छ भन्ने लोकविश्वास छ।

·            यात्रा आरम्भमा दहीको ठेकी, हरियो सागको मुठो तथा जलले भरिएको घडा भेटिएमा शुभ हुन्छ भन्ने लोकविश्वास छ।

·         कतै यात्रा गर्न लाग्दा बाटोमा बाहुन, दमाई जातिका मानिस भेटिएमा शुभ मानिन्छ।



३.१५.६ स्वप्नसम्बन्धी लोकविश्वास

·            सपनामा हरियो घाँस काटेमा निकट भविष्यमा रूपैया-पैसा प्राप्त हुन्छ भन्ने लोकविश्वास छ।

·            सपनामा खोलो तरेको देखेमा वा उकालो उक्लेको देखेमा कार्यमा सफलता मिल्छ भन्ने लोकविश्वास छ।

·            सपनामा दही खाएको देखिएमा प्रगति हुने र सपनामा भात-मासु खाएमा अनिष्ट हुन्छ भन्ने लोकविश्वास छ।

·          स्वप्नमा आगो लागेको देखेमा द्वन्द हुन्छ भन्ने लोकविश्वास छ।

·            सपनामा रुख ढलेको वा उखेलिएको देखिएमा गाउँघरमा कसैको मृत्यु हुने वा अनिष्ट हुन्छ भन्ने विश्वास छ।

·            सपनामा कपालमा लाउने फूल देखेमा आफ्नै श्रीमती गर्भवती भएको विश्वास गरिन्छ।

·            सपनामा गाई अथवा बाच्छाबाच्छी देखियो भने त्यो ज्यादै शुभ हुन्छ भन्ने लोकविश्वास छ।

·            सपनामा मृत व्यक्तिलाई देख्नु शुभ हुन्छ भने सन्यासीलाई देख्नु अशुभ मानिन्छ।

·            सपनामा दाँत झरेको, नाक-कान काटिएको तथा घर जलेको देखेमा अशुभ हुन्छ भन्ने लोकविश्वास छ।



३.१६ नियाँबरमक्षेत्रको विविध धार्मिक स्थलहरू

नियाबरमक्षेत्रमा धार्मिक स्थलहरूको विशेष र्णन गर्नु पर्दा भाले ढुङ्गा, प्रणामी मन्दिर, शिव मन्दिर, गिर्जाघर आदि रहेको पाउँछौँ।

नियाँबरममा अवस्थित केही धर्मिक स्थलहरू यस प्रकार छन्-



३.१६.१ भाले ढुङ्गा 

भाले ढुङ्गा  नियाँबरमको सबैभन्दा माथिको भागमा रहेको एक प्राचिनतम धार्मिक स्थल हो। भाले ढुङ्गालाई भालेको नामाकरण गर्नु पनि उहिले ढुङ्गा भाले जस्तै बास्नुको कारणले हो भन्ने भनाइ छ। यस धार्मिक स्थलको विषयमा विभिन्न दन्त्य कथाहरू सुन्न पाउँछौँ। हुन त यो जगामा त्यसतो खास गरि धैरै ठूलो मन्दिर बनाएको नभए तापनि प्राचिन समयमा भाले ढुङ्गालाई मानिसहरूले धेरै मानेका थिए। जब पनि यो भले ढुङ्गा भाले जस्तो प्रकारले बास्थ्यो तब नियाँबरममा लेप्चा वा भोटिया मर्थे भन्ने भन्ने कुरा पनि जन स्रुतिमा छ। धेरै समय पछि लेप्चा र भोटियालाई अशुभ भएको कारणले गर्दा भाले ढुङ्गाको शिर काटियो, त्यस पछि भाले ढुङ्गा बास्न छोडेको हो भन्ने भनाई छ।

      अन्य नियाँबरम क्षेत्रको धार्मिक स्थलहरूमा प्रणामी मन्दिर, शिव मन्दिर र गिर्जा घर मात्र पाउँन सक्छौँ। य धार्मिक स्थलमा गएर नियाँबरमका विविध धर्मावलम्बिहरूले चाडपर्व आदिमा इच्छा अनुसार आफ्नो धार्मिक परम्परालाई मानेको देख्न पाइन्छ। 



















                          

















चौथो अध्याय

4 निष्कर्ष

नियाँबरम सिक्किमको ऐतिहासिक स्थान हो। जुन ठाँउमा क्षेत्री, बाहुन, गुरुङ, सुब्बा, राई र अन्य जनगोष्ठीका मानिसहरू बसोबास गर्दछन्। विभिन्न जाती र जनगोष्ठीहरू बसोबास गरेका ठाँउका मानिसहरूले आजपर्यन्त आफ्नो धर्म, कर्म, संस्कृति, लोकविश्वास आदिलाई छेडेका छैनन्। धेरै मानिसहरू कृषि कार्यमा सम्लग्न छन् भने कोही मात्रमा सरकारी कार्यमा सम्लग्न भए तापनि नियाँबरम सिक्किमका अन्य भाग भन्दा पछौटे छैन। नियाँबरममा बसोबास गर्ने मानिसहरू विविध जातिका भए तापनि समाजिक कार्य आदिमा सबैले हात बडाएकै हुन्छन्। नियाँबरमको लोकसांस्कृतिको विषयमा हेर्दा त्यहाँका मानिसहरूले आज पनि प्राचिन सभ्यतालाई भुलेका छैनन् भन्ने कुरा थाहा पाइन्छ। सास्कृतिक भेषभूषाहरू दैनिक रूपमा प्रचलनमा नल्याए पनि विविध चाडपर्वहरूमा आफ्नो भेषभूषालाई मान्यता दिएका छन्, साथै लोकविश्वास जस्तै धामी झाँक्री, पूजाहरू जस्ता कार्यमा पनि विश्वास गर्दै आएको पाइन्छ।

















सन्दर्भ सूची

१. बन्धु चूडामणि, वि सं २०५८,  नेपाली लोकसाहित्य, काठमाडौँ : एकता बुक्स।

२. प्रधान सुचन, सन् 2010 नेपाली चाडपर्वहरूको संस्कृतिक अध्ययन, नेपाली विभाग :   उत्तरबङ्ग विश्वविद्यालय।

३. वशिष्ठ, उदयचन्द्र, सन् १९९७, सिक्किमका चाडपर्व, सिक्किम : जनपक्ष प्रकाशन

४. दीप, ध्रुव कृष्ण, वि सं २०५२, हाम्रो संस्कति हाम्रो ढुकुटी,  ललितपुर : साझा प्रकाशन

५. भट्टराई प्रकाश, सन् 2007, नेपाली सभ्यताको परिचय, निर्माण प्रकाशन, नाम्ची दक्षिण सिक्किम।

६. गुरुङ केदार, बस्नेत उपमान (सम्पादक), सन् 1989, द्वैमासिक साहित्यिक स्रष्टा, गेजिङ : साहित्य प्रकाशन।









 




































                                         







 














                                         



















नियाँबरमको मानचित्र







[१] महानन्द पौड्याल, सन् १९८९, 'काजी कालुपाँडे', स्रष्टा, केदार गुरुङअन्य (सम्पा), अंक २५, पश्चिम सिक्किम : साहित्य प्रकाशन,  पृ. १२८
[२]  केदार गुरुङ, उपमान वस्नेत, स्पष्टा, द्वैमासिक साहित्य पत्रिका, मार्च १९८९-अंक २५, प्रकाशन, गेजिङ बजार, पश्चिम सिक्किम

[३] प्रकाश भट्टराई, सन् २००७, नेपाली सभ्यताको परिचय, नाम्ची : निर्माण प्रकाशन, पृ.१६६
[४] चूडामणि बन्धु, वि सं २०५८, नेपाली लोकसाहित्य, काठमाडौँ : एकता बुक्स, पृ. १८८।

[५] चूडामणि बन्धु, वि सं २०५८, नेपाली लोकसाहित्य, काठमाडौँ : एकता बुक्स,

[६] चूडामणि बन्धु, वि सं २०५८, नेपाली लोकसाहित्य, काठमाडौँ : एकता बुक्स, पृ, १९२।

[७] सुचन  प्रधान, सन् 2010 नेपाली चाडपर्वहरूको संस्कृतिक अध्ययन, नेपाली विभाग :     उत्तरबङ्ग विश्वविद्यालय

Comments

Popular posts from this blog